काठमाडौं । हेटौँडा र काठमाडौँस जोड्ने छोटो दुरीका दुवै मार्गमा सवारी आवागमन बन्द गरिएको छ । कुलेखानी–महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक र कुलेखानी–फाखेल–फर्पिङ सडक स्तरोन्नतिका क्रममा सवारीसाधनको आवागमन बन्द गरिएको हो ।
दुवै सडकको मकवानपुर र काठमाडौँको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले बन्द गरिएको छ। कुलेखानी–फाखेल–फर्पिङ सडक स्तरोन्नतिका क्रममा सोमबारबाट यातायातका साधनको आवागमन रोकिएको छ । यो सडकखण्ड आगामी चैत मसान्तसम्म बन्द हुनेछ ।
मकवानपुरतर्फ कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ सडकखण्डको र पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत हुमानेभन्ज्याङ–टल्कु–फर्पिङ सडकखण्डको स्तरोन्नतिको काम चलिरहेको छ ।
काठमाडौँको दक्षिणकाली नगरपालिकाले काठमाडौँतर्फ हुमानेभन्ज्याङ–टल्कु–फर्पिङ सडकखण्डमा कालोपत्रे गर्ने तयारीमा रहेकाले सवारीधनीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।