हुम्ला। हुम्ला जिल्लाको ताँजकोट गाउँपालिकामा नेपाल दूरसञ्चार प्रणालीको ‘फोरजी’ सेवा सञ्चालनमा आएको छ । वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेको ताँजकोट गाउँपालिकाको दुर्गम गाउँमा फोरजी सेवा सञ्चालनमा आएको हो ।
मङ्गलबारदेखि ताँजकोट गाउँपालिकामा ‘फोरजी’ सेवा सञ्चालनमा आएसँगै आसपासका सबै गाउँका साथै यहाँका स्थानीय उत्साहित भएका छन् । गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्यसम्पादनमा समेत सहज भएको ताँजकोट गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाभित्र रहेका नागरिकलाई सूचना प्रवाहमा सहज हुनुका साथै अन्य सूचनासमेत थाहा पाउनका लागि मात्रै नभई देश तथा विदेशका समसामयिक घटनाबारे ताँजकोटवासी अब इन्टरनेटका माध्यमबाट घरमै बसेर जानकारी पाउने भएका छन् ।