गण्डकी। अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार ५ सय ५८ विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो ।
त्यसअघि, सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए ।अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ।
सन् २०१९ मा दक्षिण एसियाली देशका जम्मा ५३ हजार सात सय १० पर्यटक अन्नपूर्ण पुगेकामा गत वर्ष ९७ हजार पाँच सय ५४ जना उक्त क्षेत्रको भ्रमण गरेका थिए ।
कोभिड–१९ महामारीका बेला पर्यटक आगमन ह्वात्तै घटेकामा महामारीको अन्तयसँगै अन्नपूर्ण क्षेत्रको पर्यटनले पुनः पुरानैलय समातेको हो।
अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।