काभ्रेपलाञ्चोक । प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयले काभ्रेपलाञ्चोक र मकवानपुर जोड्ने पुल निर्माण कार्य चालु आर्थिक वर्षभित्र सक्न निर्देशन दिएको छ। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बाग्मती गाउँपालिका–५ जोड्ने सिक्रेदोभानस्थित बागमती नदीमा सात वर्षदेखि पुल निर्माण कार्य अलपत्र परेको भन्दै मन्त्रालयले चाँडो सक्न निर्देशन दिएको हो।
मन्त्री युवराज दुलालले पछिल्लोपटक पुल निर्माणस्थलको अनुगमन गरेपछि निर्माण कम्पनीलाई चालु आवभित्र सक्न निर्देशन दिएका छन्। उनले निर्माण कम्पनीका प्रतिनिधिलाई चालु आवमै पुल निर्माण सक्न निर्देशन दिएको बताएका हुन्।
मन्त्री दुलालका अनुसार प्रदेश सरकारले पुराना ठेक्का भएका पुल, सडकलगायतका आयोजना चालु आवभित्र निर्माण सम्पन्न गर्ने वा ठेक्का तोड्ने विषय चालु आवको नीति तथा कार्यक्रममा समावेश गरेको थियो ।
दुई वर्षमा निर्माण गर्ने गरी निर्माण कम्पनी महादेव–शिखर–तामाकोशी–जेभीसँग ११ करोड ६५ लाखमा ठेक्का सम्झौता गरिएको थियो ।
निर्माण सुरु भएदेखि हालसम्म मकवानपुरतर्फ पिल्लर उठाउने, नदीकाबीचमा ‘पाइलिङ’को काम र काभ्रेपलाञ्चोकतर्फ बस्ने पिल्लरको पाइलिङको काम सुरु गरिएको छ । हालसम्म ३० प्रतिशत पुल निर्माण सकिएको निर्माण कम्पनीले जनाएको छ।