धनुषा। धनुषा र सिरहा जोड्ने कमला नदीमा मधेश प्रदेशकै लामो झोलुङ्गे पुल निर्माण कार्य अन्तिम चरण पुगेको छ। सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भइरहेको झोलुङ्गे पुलको काम सकिन लागेको हो।
उक्त पुल एक हजार पाँच सय एक मिटर लामो र चार फिट चौडाइको छ ।
सङ्घीय सरकारको २८ करोड लागतमा निर्माण भइरहेको पुलको ठेक्का थानी निर्माण सेवा काठमाडौँले पाएको छ । पुल निर्माणको काम माघ दोस्रो सातासम्म सम्पन्न हुने निर्माण कम्पनीका इन्जिनियर विनोदकुमार मण्डलले बताए । ठेक्का अवधि २०८१ असार मसान्तसम्म भए पनि छ महिना अगावै माघ महिनाभित्रै सक्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको उहाँले जानकारी दिए। सरकारसँग ठेक्का सम्झौता गरेर निर्माण कम्पनीले २०७९ असोज १ गतेदेखि काम सुरु गरेको थियो । गोरखापत्रबाट