दमौली। सडक डिभिजन कार्यालय दमौलीले तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन घुमाउने पुलको कामको गति नबढेपछि ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ । कार्यालयले बुद्धसिंह मार्गअन्तर्गत पर्ने उक्त घुमाउनेमा निर्माण भइरहेको पुलको काम सन्तोषजनक नभएपछि ठेक्का तोड्ने प्रक्रिया थालेको हो ।
कार्यालयले निर्माण कम्पनी मृत सञ्जीवनी निर्माण सेवाका नाममा सूचना जारी गरी कार्यालयका तर्फबाट पटक–पटक मौखिक तथा लिखित जानकारी गराउँदासमेत निर्माणको प्रगति अत्यन्तै न्यून देखिएको, पेस गरिएका कामको तालिका, माइलस्टोन र कामको क्रमागत प्राथमिकताअनुसार निर्माण सम्पन्न गर्नेरगराउने सम्बन्धमा कुनै प्रयास नगरेको र तदारुकतासमेत नदेखाएकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम ठेक्का अन्त्य किन हुनुनपर्ने भन्दै स्पष्टीकरण माग गरेको छ ।
कार्यालयले सूचना प्रकाशित भएको मिति (२०८० पुस १९ गते) देखि १५ दिनभित्र सम्झौताको मर्म र कानुनी परिधिभित्र रहेर स्पष्ट प्रमाण र आधारहरुसहित उचित जवाफ पेस गरी निर्माण द्रुत गतिमा सञ्चालन गर्न भनेको छ । अन्यथा सार्वजनिक खरिद ऐन २०६३, सार्वजानिक खरिद नियमावली २०६४ र ठेक्का सम्झौताको सर्तबमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ ।