म्याग्दी। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिर–पोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका–७ महभिरबाट वडा नं ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको हो ।
बेनी–जोमसोम–कोरला सडक योजनाले ठेकेदार कम्पनीले यसअघि प्राइम कोड बिछ्याएको पोखरेबगर र भुरुङ्ग–तातोपानी क्षेत्रमा बिटुमिन र चिप्ससहित पहिलो कोड राख्न थालेको बताएको छ।
महभिरबाट भिरकाटेसम्म कालोपत्रका लागि बेस राखिसकेको छ । त्यहाँ फस्ट कोड राख्ने तयारी भएको छ । करिब तीन किलोमिटर सडक कालोपत्र गर्न लागिएको हो।
रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न २०७४ मा शर्मा युनाइटेड जेभी र बेनी–जोमसोम–कोरला सडक योजनाबीच ठेक्का सम्झौता भएको थियो ।
प्रतिकूल भूगोल, विपद् र कोरोना महामारीका कारण यो सडक निर्माण २०७७ हिउँददेखि सुस्ताएको थियो । धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि ठेकेदार काममा फर्किएर कालोपत्र गर्न थालेको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ।