काठमाडौं। पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा मर्स्याङ्दी नदी पारि नयाँ सडक निर्माण गरिने भएको छ । मुग्लिन–आँबुखैरेनी सडकखण्ड अन्तर्गत कुल ९.३८४ किलोमिटर सडकमध्ये मर्स्याङ्दी नदी पारि ४.४५६ किलोमिटरमा नयाँ सडक निर्माण गर्न लागिएको हो ।
यसका लागि वातावरणीय प्रभाव मूल्यांकन पूरा गरी आयोजनाले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । यो आयोजना मुग्लिनस्थित नारायणगढ चोकबाट सुरु भई तनहुँको आँबुखैरेनीमा पुगेर सम्पन्न हुन्छ ।
यो मुग्लिन–पोखरा सडक खण्डको एक खण्ड हो । आँबुखैरेनीबाट पोखरासम्म अहिले धमाधम सडक विस्तारको काम भइरहेको छ । आयोजनाका अनुसार अहिले सुचारु अवस्थामा रहेको मुग्लिन–आँबुखैरेनी सडकलाई स्तरोन्नति गरी एक लेन बनाइने छ ।
मर्स्याङ्दी पारी भने दुई लेन एकतर्फी बाटो बनाइने भएको छ । त्रिशूली नदी र मर्स्याङ्दी नदी गरी दुई स्थानमा बन्ने पुलले यो आयोजनालाई जोड्नेछ ।