कैलाली। धनगढी उपमहानगरपालिकाको मोहनापुल–अत्तरिया सडकखण्डमा छुट्टै साइकल लेन सञ्चालनमा आएको छ । सडकको दुबै साइड गरी करिब १६ किलोमिटर सडक खण्डमा निर्माण गरिएको साइकल लेनको नगरप्रमुख गोपाल हमालले उद्घाटन गरेका हुन्।
साइकल लेनको उद्घाटन कार्यक्रममा नगरप्रमुख गोपाल हमालले साइकल यात्रीहरूलाई सडक दुर्घटनाबाट जोगाउन र सडक प्रयोग गर्न पाउनुपर्ने उनीहरूको अधिकारका लागि छुट्टै लेन निर्माण गरिएको बताए ।
उपमहानगरको भैपरी आउने पुँजीगत शीर्षकबाट ४६ लाख ५० हजार बजेट रकमान्तर गरेर आधुनिक र सुविधासम्पन्न साइकल लेन बनाउने काम गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
धनगढीको ६ लेन सडकमा साइकल लेन बनाउन उपमहानगरको नगरकार्यपालिका बैठकले निर्णय नै गरेर त्यसका लागि बोलपत्र आह्वान गरेको थियो । सुदूरपश्चिममै पहिलो पटक उपमहानगरपालिकाले साइकल लेन बनाएको हो ।