ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा साइनबोर्ड र ब्यानर हटाउन आग्रह गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले आइतबार सूचना जारी गर्दै अव्यवस्थित रूपमा राखिएका साइनबोर्ड र ब्यानर हटाउन आग्रह गरेको हो ।
समितिले सूचनामा १५ दिनभित्र अर्थात् आगामी माघ ७ गतेसम्ममा पाथीभरा क्षेत्रमा राखिएका साइनबोर्ड र ब्यानरजस्ता सामग्री हटाइसक्न उल्लेख गरेको छ ।
पाथीभरा पदमार्गका विभिन्न ठाउँमा अव्यवस्थित रूपमा र त्यहाँ रहेको वनस्पति तथा रुखहरूमा फलामका काँटी प्रयोग गरेर राखिएका साइनबोर्डले प्राकृतिक सौन्दर्यमा प्रतिकूल असर पुर्याइराखेको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै फलामजन्य धातुका काँटी प्रयोग गर्नाले लोपोन्मुख तथा संरक्षित वनस्पति र बोट बिरुवाहरू मासिने अवस्था देखिएको समितिले जनाएको छ ।