काठमाडौँ। स्याङ्जाको स्यालबासस्थित ऐतिहासिक दरबार निर्माणका लागि सांस्कृतिक महोत्सव हुने भएको छ। हात्तीस्थान फाउन्डेसन समिटले पुस १५, १६ र १७ मा स्याङ्जा गल्याङकोटदेखि १३ किमि उत्तरमा रहेक स्यालबासस्थित उक्त दरबार निर्माणका लागि हात्तीस्थान९तामेकोट समिट महोत्सव आयोजना गर्न लागेको हो।
लगभग साढे सात सय वर्ष अगाडी उक्त स्थानमा १४ कोठाको तीन तले तामेकोट दरबार रहेको ईतिहास रहेको छ। अझैं पनि दरबार र ऐतिहासिक ढुङ्गाका अवशेष रहेको उक्त स्थानमा आलम नामका राजा रहेको बताइन्छ। फाउन्डेसनका अध्यक्ष शिवशंकर बस्यालका अनुसार राजा यौनलिप्त भएर राज्यप्रति बेफिक्री भएपछि रानी बेगमले उनलाई नजरबन्द गरेर सेनापति अर्थमसँग मिलेर राज्य संचालन गरेको कथन रहेको छ।
उक्त ऐतिहासिक दरबार पुनर्निर्माणका लागि फाउन्डेसनको पहलमा महोत्सव गर्न लागिएको उनले जानकारी दिए। लगभग १० करोड रुपैयाँ निर्माण लागत अनुमान गरिएको उक्त दरबार पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकार र स्थानीय तहले सहयोग प्रतिबद्धता गरेकोमा केन्द्र सरकारसँग पनि पहल भइरहेको फाउन्डेसनले जानकारी दिएको छ।
उक्त एतिहासिक दरबार पुनर्निर्माण भएमा एतिहासिक कुराहरु, संस्कृतिहरु लोप नहुँने विश्वास गरिएको छ। जसले गर्दा यस क्षेत्रमा पर्यटकको संख्या पनि बढ्ने भएका कारण आर्थीक क्षेत्रमा पनि सहयोग पुग्ने आशा गरिएको छ।