काठमाडौं। आन्तरिक उडानको हवाई भाडादर पुनरावलोकन गर्न गृहकार्य सुरु गरिएको छ। नागरिक उड्डयन प्राधिकरणको नियामकीय निर्देशनालय प्रमुखको संयोजकत्वमा भाडादर पुनरावलोकनका लागि समिति गठन गरेको हो।
२०७३ सालयता लागू हुँदै आएको भाडादर पुनरावलोकनका लागि वायुसेवा कम्पनीबाट पटक पटक सुझाव आएपछि प्राधिकरणले गृहकार्य सुरु गरेको हो।
गठन गरिएको कमिटीले गरेको अध्ययन अनुसार हवाई भाडादर र फ्युल सरचार्ज शुल्क पुनरावलोकन हुने छ। कमिटीले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत भएलगत्तै आन्तरिक उड्डयन उद्योगमा नयाँ भाडादर लागू हुने बताइएको छ।
सैद्धान्तिक रूपमा समेत अध्ययन गर्नुपर्ने भएकाले पुनरावलोकन सुझावका लागि तीन महिना लाग्ने बताइएको छ।