पोखरा। प्याराग्लाइडिङ उडानमा लगाइएको एकद्वार प्रणालिको प्रावधान हटेपछि पोखराको आकाशमा हुने प्याराग्लाइडिङ उडानको शुल्क ह्वात्तै घटेको छ। अहिले कम्पनिले ३ देखि ४ हजार रुपैयाँमा पाहुनालाई आकाशमा उडाउन थालेका छन्। यो शुल्क केहीदिन अघिसम्म १२ हजार रुपैयाँ थियो। हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले समेत विवादका बीच उडान गर्दा जोखिम हुने भन्दै प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो।
तर, खुला बजार नीति अनुसार व्यावसायी आफैले मूल्य तोकेर उडान गर्न पाउने गरि सहमति भएपछि उडान खुला भएको थियो। अहिले पोखराको आकाशमा उडान गर्दा बढीमा ४ हजार रुपैयाँ लिएको व्यावसायीले बताएका छन्। यात्रु तान्ने होडमा कतिपयले ३ हजार रुपैयाँसम्ममा पनि उडान गरिरहेको व्यावसायीले नै बताएका छन्। यसअघि पोखराको सराङकोटमा ४ र तोरीपानीमा १ गरि ५ वटा टेकअफ पोइन्ट थिए। ल्याण्डिङ पोइन्ट ४ वटा थिए। तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपनि सराङकोटबाट हुने उडान रोकिएको थियो। अहिले प्याराग्लाइडिङको तोरिपानी र मान्द्रेडुंगामा गरि २ वटा टेकअफ र पामेको पुल छेउमा एउटा मात्र ल्याण्डिङ पोइन्ट रहेको छ।