काठमाडौं। जगदम्बा स्टिलले प्रिमियम मूल्यमा आइपिओ ल्याउने तयारी गरिरहेको छ। जगदम्बा स्टिलले अंकित मूल्यमा प्रति कित्ता २०० रुपैयाँ प्रिमियम जोडेर २ करोड ७० हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो।
यता उद्योग आसपासका स्थानीयले भने अंकित मूल्यमै आइपीओ पाउनुपर्ने माग गरेका छन्।
बाराको जितपुर सिमरा उपमहानगर-१ र २ का स्थानीयले अंकित मूल्यमै अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै आइपिओ पाउनुपर्ने मागसहित नियामक निकायको ध्यानाकर्षण गरेका हुन्।
स्थानीयका तर्फबाट वडा १ र २ का कार्यबाहक अध्यक्षले नेपाल धितोपत्र बोर्डमा प्रभावित क्षेत्रका स्थानीयले अंकित मूल्यमै आइपिओ पाउने गरी स्वीकृति दिन पत्र बुझाएका छन्।
जगदम्बा स्टिलले आइपिओ निष्कासनका लागि गत असोज १७ गते बोर्डमा निवेदन दिएको थियो। बोर्ड अनुमति दिने अन्तिम तयारीमा रहेका बेला स्थानीयले १०० रुपैयाँकै दरले आवेदन दिन पाउने मागसहित दबाब दिएका हुन्।