तनहुँ। तनहुँको बन्दीपुर–५ मा रहेको ‘पहाडकी रानी’ भनेर चिनिने ऐतिहासिक चन्द्रगढीको पुनः निर्माण गरिएको छ । गाउँपालिकाको सक्रियतामा चन्द्रगढीको पुनः निर्माण गरिएको हो।
बाइसे–चौबिसे राज्यको पालामा रहेको सो गढी लामो समयदेखि भग्नावशेषरुपमा रहेकाले पुनःनिर्माण गरी संरक्षण गर्न लागिएको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ । बन्दीपुर गाउँपालिकाले पाँच लाख बजेट विनियोजन गरी गढीको पुनःनिर्माण गरेको बताइएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पैदलमार्ग निर्माण कार्य पनि अघि बढाइएको छ । उक्त दरबारमा ढाल, खुँडा र तरबार हराउँदै गएकाले गाउँपालिकाले त्यसको संरक्षण गरी आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
चन्द्रकोट गढीको इतिहासको खोजी गरी पर्यटकीयस्थलका रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले गढीको संरक्षण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए । उक्त गढी पुरातात्विक महत्व बोकेको स्थान भएकाले पुनः निर्माण गरी संरक्षण गरिएको उनको भनाइ छ । त्यसैगरी बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट सुरु गरी मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करिब चार किलोमिटर दूरीको मिनी ग्रेटवाल पनि पर्यटकको रोजाइ बन्ने गरेको छ । बन्दीपुरले रु एक करोड खर्च गरी चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवालतर्फ पर्यटक आकर्षित हुने गरेका अध्यक्ष थापा बताए ।