काठमाडौं। काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भएको छ। गोरखा भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनःनिर्माणको काम सकिएको हो।
काष्ठमण्डपको यहि महिनामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। विसं २०७५ वैशाख १६ गतेदेखि काष्ठमण्डप पुनःनिर्माण समितिमार्फत निर्माणको काम शुरु गरिएको थियो।
समितिले शुक्रबार कार्यप्रगतिबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राजेश शाक्यले सम्पूर्ण काम सकिएको र काष्ठमण्डपको बाहिरी घेरामा काठको बार लगाउने काम भइरहेकाले बताए। उनले उक्त काम सकेपछि राष्ट्रप्रमुखबाट उद्घाटनको मिति तय गरिने जानकारी दिए।
उक्त सम्पदा काठमाडौं महानगरपालिकाको रु ११ करोड ५० लाख आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिबाट निर्माण भएको हो।