काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा विभिन्न पूर्वाधार निर्माणको शिलान्यास गरेका छन्।
शुक्रबार चितवन पुगेका दाहालले शनिबार बिहानै सी बिच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माणको शिलान्यास गरेका हुन्।
यस अघि एमाले महाधिवेशनको उद्घाटन सत्र आयोजना गरेको स्थलमा नै आयोजित शिलान्यास कार्यक्रममा दाहालले एमाले नेता कार्यकर्ताले चितवनको विकास देख्नुका साथै यहाँको राजनितिक महत्व के हो भन्ने कुरा पनि बुझेर गएको बताए ।
दाहालले यातायात व्यवस्था सेवा कार्यालय भरतपुरको सवारी दर्ता तथा सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) को नवीकरण सेवा शुभारम्भको पनि उद्घाटन गरे । बागमती प्रदेशअन्तर्गतको यातायात सेवा कार्यालयले स्मार्ट लाइसेन्सको नविकरण गर्न पाउने अधिकार पाएलगत्तै सेवा सञ्चालन गरेको हो ।
दाहालले केही समयअघि मात्र ६ जना मन्त्री भरतपुरमा ल्याएर विकास बहसको कार्यक्रम गरेका थिए ।