सोलुखुम्बु। सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या २३.८४ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला शाखाले जनाएको हो ।
प्राधिकरणका प्रमुख उमेश पन्थीका अनुसार सन् २०२२ मा एक लाख एक हजार पाँच सय एक पर्यटकले हवाई सेवा प्रयोग गरेकामा सन् २०२३ मा एक लाख ३३ हजार दुई सय ७४ जना पुगेका थिए । सङ्ख्यात्मक हिसाबले ३१ हजार सात सय ७३ बढी हो । हवाई सेवा लिने अधिकांश विदेशी पर्यटक रहेको उनको भनाइ थियो ।
सन् २०२३ को ‘अफ सिजन’मा खुम्बु भ्रमण गर्ने विदेशीको सङ्ख्या बढेकाले हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या वृद्धि भएको प्राधिकरण प्रमुख पन्थीले बताए । सगरमाथा क्षेत्रको विमानस्थल भनेर चिनिने लुक्ला विमानस्थलमा हवाई सेवा लिनेको सङ्ख्या अधिक हुने गरेको छ ।
खुम्बु भ्रमण गर्ने अधिकांश विदेशी पर्यटक काठमाडौं वा रामेछापको मन्थलीबाट जहाजमै लुक्लासम्म पुग्ने र त्यहाँबाट पैदलयात्रा गर्दै उकालो लाग्ने गरेको तारा एयरलाइन्स लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले बताए ।
उनका अनुसार लुक्लासम्म सडकमार्ग नपुगेकाले खुम्बु भ्रमण गर्ने अधिकांश पर्यटकले हवाई सेवा नै लिनुपर्ने बाध्यता छ । सीमित पर्यटकले मात्रै गाडीबाट सदरमुकाम सल्लेरी, थामडाँडा हुँदै त्यहाँबाट हिँडेर लुक्ला पुग्ने गरेको उनले बताए ।