काठमाडौं। चन्द्रागिरि नगरपालिकाले आफ्नो छुट्टै नगर अस्पताल बनाउने भएको छ। नगर प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेल, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल लगायतले संयुक्तरुपमा भवन निर्माणका लागि बुधबार शिलान्यास गरेका हुन्।
चन्द्रागिरि–४ गोदामचौर थानकोटस्थित हाल सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पताल’को हाता भित्रै थप १५ श्ययाको नगर अस्पताल बनाउन लागेको हो।
मन्त्रिपरिषद्को गत फागुन ४ को बैठकले चन्द्रागिरि नगर अस्पताल बनाउन नगरपालिकालाई २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो। यसपछि नगरपालिकाले फागुन २१ गते अस्पतालको नयाँ भवन निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो।
गत असार २० मा चन्द्रागिरि नगरपालिका र निर्माण कम्पनीका बीचमा दुई वर्ष भित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी द्विपक्षीय सम्झौता भएको थियो। करबाहेक रु १७ करोड ४९ लाख ३४ हजार एकसय ९९ मा तीन तल्ले भवन बन्ने जनाइएको छ।