काठमाडौं। सरकारले बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि प्रस्तावित जग्गामा रुख काट्न दिने भएको छ। बुधबार सङ्घीय सरकारले प्रस्तावित क्षेत्रमा तोकिएका रुख काट्न दिने निर्णय गरेको हो।
मन्त्रिपरिषद्ले कलेज निर्माणको प्रस्तावित बर्दिबास–४ माइस्थानको अटाबे खोल्सीदेखि पूर्व र भब्सी खोलादेखि पश्चिमको सामुदायिक वन क्षेत्रको ५४ दशमलव ५८४ हेक्टरमा रहेका एक हजार नौ सय ७६ रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको हो।
सरकारले रुख काट्न दिने भएपछि अब कलेजको पूर्वाधार निर्माणका लागि बाटो खुलेको छ।
सरकारले कलेजको पूर्वाधार निर्माणका लागि जग्गा प्राप्तितर्फ गरेको निर्णय सकारात्मक रहेको स्थानीयको भनाइ छ।
कलेज निर्माणको प्रस्तावित जग्गामा काटिने रुखका कारण पर्यावरणमा पर्नसक्ने नकारात्मक असर रोक्न बर्दिबास नगरपालिकाले दुई वर्ष पहिलेदेखि नै सघन वृक्षरोपण अभियान सञ्चालन गर्दै आएको छ । यस अवधिमा नगर क्षेत्रमा ३० हजार भन्दा बढी बिरुवा रोपिएका र ती हुर्कँदै गरेको पालिकाले जनाएको छ।