मुगु। नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारामा ६ महिनामा ६ हजार बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक ६ हजार ५ सय ५७, सार्क तथा विदेशी मुलुकबाट १ सय ५६ गरी ६ महिनामा ६ हजार ७ सय १३ पर्यटकले रारा अवलोकन भ्रमण गरेका हुन् ।
आन्तरिक मात्रै ६ हजार ५ सय ५७ जना पर्यटक यहाँ आएको बताइएको छ। दसैँ तथा तिहार बिदामा रारामा आन्तरिक पर्यटक बढी आएका हुन्।
यो अवधिमा पर्यटकसहित अन्य शुल्क, सजाय, जरिवानाबाट निकुञ्जले करिब २२ लाख १८ हजार राजस्व असुल गरेको निकुञ्जको कार्यालयले जनाएको छ । गत वर्ष एघार हजार आन्तरिक पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ र अन्य विदेशी एक सय ८३ जना पर्यटक आएका थिए । कोरोना महामारीका कारण ४ वर्षसम्म शिथिल बनेको पर्यटकीय क्षेत्र यस वर्ष भने पर्यटक आगमन बढ्ने देखिएको छ ।