बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ । हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकको सुविधाका लागि आधार शिविर र भुस्केट मेला खर्कमा लज निर्माण गर्न लागिएको हो ।
भ्रमणमा जाने पर्यटकको आवास र खानाको सुविधाका लागि गाउँपालिकाले लज निर्माणको तयारी गरेको गाउँपालिकाले बताएको छ। पालिकाले लज निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले अन्नपूर्ण आधार शिविर क्षेत्रको गुरुयोजना तयार गरिरहेको बताइएको छ।
गाउँपालिकाले पदमार्गअन्तर्गत फुतफुते झरनाको खोलामा पुल निर्माण गर्ने, पदमार्ग निर्माणलाई पूर्णता दिने, विश्रामस्थल थप गर्ने, शौचालय र खानेपानीको प्रबन्ध मिलाउने, फोहरमैला व्यवस्थापन गर्नेलगायत कामलाई प्राथमिकता दिएको पालिकाले जनाएको छ।