काठमाडौं। अध्यागमन विभागले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि नयाँ व्यवस्था गरेको छ। माघ १० गते आजदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि आवश्यक पर्ने कागजातबारे विभागले स्पष्ट पारेको हो।
अब यात्रा अनुमति पाउन कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्नेछ । यस्तै सम्बन्धित देशको प्रवेशाज्ञा वा अनअराइभल प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने व्यवस्था गरिएको छ । यस्तै दुईतर्फी हवाई टिकट हुनुपर्ने, भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र हुनुपर्ने छ । कसैको निमन्त्रणामा भएमा त्यसको पत्र वा ५०० अमेरिकी डलर बराबरको नगद सहटी भएको प्रमाण चाहिने पनि अध्यागमनले जनाएको छ।
युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वस्घोषणा गर्नुपर्ने र त्यसमा भएको विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमै रहने भनिएको छ।
यस्तै सरकारले भिजिट भिसाको नाममा दलाल तथा एजेन्टहरूलाई अनावश्यक रकम नदिन पनि अनुरोध गरेको छ । विदेशमा रहेका आफ्ना आफन्तलाई भेट्ने वा पर्यटकको रूपमा विदेश घुम्ने उद्देश्य लिई नेपालबाट विदेश प्रस्थान गर्नेले दलालहरूलाई पैसा नदिन आग्रह गरेको हो ।
अध्यागमनले भिजिट भिसामा जानेले समयमै स्वदेश फर्किन्छु भनेर स्वघोषणा गर्नुपर्ने पनि भनेको छ।
