काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ । निगमले प्रदेशका नागरिकमा हवाइ सेवा विस्तार गर्ने उद्देश्यले सुर्खेतबाट अन्य जिल्लामा उडान गर्ने तयारी गरिरहेको हो ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग रक्षा मन्त्रालयमा छलफल गरेको छ ।
छलफलका क्रममा उपप्रधानमन्त्री खड्काले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्ला जुम्ला, हुम्ला, सिमिकोट, ताल्चा, डोल्पालगायतका गन्तव्यको उडान प्रारम्भ गर्न प्राथमिकता दिएर चाँडो भन्दा चाँडो रफ्तारकासाथ काम गर्न आग्रह गरे ।
नेपाल वायुसेवा निगमका अधिकारी र उपप्रधानमन्त्री खड्काबीच चाँडै सुर्खेतबाट हवाई सेवा सुरु गर्न र त्यसको तयारीका लागि सुर्खेतमा नेपाल एयरलाइन्सको कार्यालय यथाशीघ्र स्थापना गर्ने बिषयमा समेत छलफल भएको थियो।