मोरङ। डिजेल खपत गरिरहेका उद्योगमा सोलार रुफटप प्रविधि जडान गर्ने बारेमा अन्तरक्रिया गरिएको छ। ऊर्जा, जलस्रोत तथ सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजना तथा उद्योग संगठन मोरङ र जर्मन सहयोग नियोगको समन्वयमा उद्योगमा सोलार रुफटप प्रविधि जडान गरी कार्बन उत्सर्जनमा कमी ल्याउने उद्देश्यले उद्योगी, व्यवसायीसँग अन्तरक्रिया सम्पन्न गरिएको हो।
कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले सौर्य ऊर्जा उद्योगका लागि सस्तो वैकल्पिक ऊर्जा भएको बताए । उनले पर्याप्त विद्युत् उपलब्ध नभइरहेको अवस्थामा सौर्य ऊर्जाको उपलब्धता उद्योग सञ्चालनका लागि उत्तम विकल्प हुने बताए । यसको प्राविधिक पक्षलाई विश्लेषण गरी जडान गर्नुपर्ने धारणा उनले राखे । विश्वव्यापी रूपमा भइरहेको वातावरणीय प्रदूषण र त्यसबाट मानव स्वास्थ्यमा परेको नकारात्मक प्रभाव न्यूनीकरणमा समेत सौर्य ऊर्जा उपयोगी भएकाले यसको प्रयोगलाई सरकारले समेत प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सौर्य ऊर्जा संयोजक निरज सापकोटाले नेपाल सरकार र जर्मन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रमुख उद्देश्य सौर्य ऊर्जाको प्रवर्द्धनका माध्यमबाट कार्बन उत्सर्जनमा कमी ल्याउनु रहेको बताए ।