ताप्लेजुङ। तीर्थयात्रीले पाथीभरामा चढाएको तामाबाट स्वागतद्धार बनाइने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले चढाउने तीर्थयात्रीको समेत अपनत्व हुनेगरी स्वागतद्धार बनाउने तयारी गरेको हो । पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेले मन्दिर क्षेत्रमै बनाउने तयारी भएको जानकारी दिए ।
क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार ६ हजार ५ सय ३९ किलो तामा समितिसँग रहेको छ ।
‘बिक्री गरेर आम्दानी बाध्ने या प्रयोग गर्ने भन्ने विषयमा छलफल भएको थियो,’ हाङवाङले भने, ‘क्षेत्र विकास समितिको बैठक र अन्य संघसंस्थाको सुझाव प्रयोग गरौं भन्ने आएकोले स्वागतद्धार बनाउने तयारी भएको हो ।’
यसअघि पाथीभरा देवी मन्दीर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले माथिल्लो फेदीमा पनि तामाकै द्धार निर्माण गरेको छ । तीर्थयात्रीले चढाएको तामाबाटै यो द्धार निर्माण गरिएको हो । काठमाडौंबाट कालीगढ ल्याएर यही ढाँचामा तयार गरिने समितिले जनाएको छ । कान्तिपुरबाट