ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा मन्दिरमा केवलकार निर्माण नगर्न भन्दै विरोध प्रदर्शन गरिएको छ । मुन्धुमी आस्थाको पवित्र स्थल भएकाले केवलकार निर्माण बिरुद्ध केवलकार खारेजी समिति बनाएर स्थानीयबासीले सोमबार सदरमुकाम फुङलिङमा प्रदर्शन गरेका हुन्।
उनीहरु प्रकृति माँस्न नपाइने, पाथीभरालाई यथास्थितिमा राख्नुपर्ने, पाथीभराको नाम मुक्कुमलुङ हुनुपर्ने, आइएलओ १६९ पालना गर्नुपर्ने लगायतका माग राखेका छन्।
काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केवलकार निर्माणका लागि पाथीभरा केवलकार निर्माण प्रालिले सम्पुर्ण कागजी प्रक्रिया पूरा गरिसकेको छ । कम्पनीको नेतृत्व उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले गरेका छन् ।
रुख कटान र निर्माणको चरणमा पुगेको कम्पनीलाई फुङलिङ नगरपालिकाले निर्माण अनुमति दिएको छ भने स्थानीयबासी भने निर्माण गर्ने र नगर्ने पक्षमा विभाजित भएका छन् । आन्दोलनकारीले रुख काट्न कुनै हालतमा नदिने अडान लिँदै आएका छन् ।