म्याग्दी। म्याग्दी जिल्लाको बेनी नगरपालिका–७ र २ को सिमाना मङ्गलाघाटस्थित डेढ सय वर्ष पुरानो झोलुङ्गे पुलको संरक्षण गर्न थालिएको छ । मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा रहेको झोलुङ्गे पुलको मर्मत गर्न थालिएको हो।
विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल जीर्ण बनेपछि मर्मत थालिएको पालिकाले जनाएको छ।
नदीदेखि पुलको उचाइलाई अहिलेको भन्दा बढाउने र काठको ठाउँमा स्टिल राखिने भएको छ । ४२ मिटर लामो पुलको पुननिर्माण गर्न करिब रु ४५ लाख लागत अनुमान गरिएको छ। पर्खाल भत्काएर पुरानै ढुङ्गाबाट नयाँ बनाउने, पुरानै लठ्ठालाई तन्काएर राखिने छ।
जिल्लाकै पुरानो र स्थानीय स्रोतसाधनलाई प्रयोग गरी बनाइएको पुल जीर्ण बनेपछि चार वर्षअघि बेनी नगरपालिकाको पहलमा सामान्य मर्मत गरिएको थियो ।