काठमाडौं। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई द्रुत मार्ग निर्धारित समयमै सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएका छन् ।
रक्षामन्त्रालयमा बसेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक समीक्षा बैठकमा उपप्रधानमन्त्री खड्काले नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित प्राविधिकहरूले स्थलगत अनुगमन र निरीक्षण बढाउनुपर्ने बताएका हुन्।
उनले आयोजनामा प्रयोग भइरहेका निर्माण सामग्रीको नियमित परीक्षण गरी सोको आधारमा गुणस्तरीय देखिएका निर्माण सामग्रीको प्रयोगलाई मात्र स्वीकृति दिनुपर्नेमा समेत जोड दिए।
साथै उनले अन्तर–निकाय समन्वय सुदृढ गरी मन्त्रालय अन्तर्गतका विकास आयोजनाको कार्यान्वयनमा देखिएका समस्या तथा चुनौतीलाई सम्बोधन गर्दै अघि बढ्न निर्देशन दिए ।
उपप्रधानमन्त्री खड्काले नेपाली सेनालाई जिम्मेवारी दिइएका कतिपय सडक आयोजनामा न्यून बजेटका कारण नेपाली सेनाको जनशक्ति र उपकरणको क्षमताभन्दा कम उपयोग भइरहेकोले रणनैतिक महत्वका सडक तथा विकास आयोजना पर्याप्त बजेट व्यवस्था गरी नेपाली सेनाको क्षमता र उपकरणको पूर्ण उपयोग गर्न आवश्यक रहेको उल्लेख गरे ।