चितवन। भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पतालको अनुगमन गर्न थालेको छ। महानगरपालिकाले सोमबारदेखि स्थानीय सरकारमातहत रहेका अस्पतालमा अनुगमन गर्न सुरु गरेको हो।
भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीको नेतृत्वको टोलीले अस्पतालको भौतिक संरचना, शय्या, औषधि, उपकरणको अवस्था, लिफ्ट वा अपाङ्गतामैत्री र्याम्प, पर्याप्त पार्किङ भए÷नभएकोलगायत विषयमा स्थलगत निरीक्षण गरेको छ ।
अनुगमनका क्रममा उपप्रमुख अधिकारीले भने, “मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सुधार हुन जरुरी छ । बहानाबाजी चल्दैन, कानुनभन्दा माथि कोही छैन ।”
अनुगमन क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौड्यालले अस्पताललाई व्यवस्थापन गर्न र कानुनी दायरामा ल्याउनका लागि अनुगमन सुरु गरिएको उल्लेख गरे । “भरतपुरका केही अस्पताल बिना इजाजत सञ्चालन गरेको पाइयो”, उनले भने, “त्यसैलाई खबरदारी गर्न हामी अनुगमनमा निस्केका हौँ ।”