तनहुँ। तनहुँको देवघाट गाउँपालिका–५ मा पाँच सय वर्षअघिका पञ्चदेवलको पुनःनिर्माण गरिएको छ। परिसरमा पुरातत्व विभागले मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पाँच सय वर्षअघिका पञ्चदेवलको पुनःनिर्माण गरेको हो।
पाँच सय वर्षअघि सोह्रौँ शताब्दीमा तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाटमा आई ध्यान गरी विभिन्न मठमन्दिर र देवालयको निर्माण गरेको बताइएको छ । विभिन्न प्रमाणका आधारमा त्यस समयमा निर्मित मठमन्दिर र देवालयको शैली, ढाँचा र शिल्पीको पहिचान गर्न उत्खनन् गरिएको पुरातत्व विभागले जनाएको छ ।
मन्दिर परिसरमा रहेका पाँच मन्दिरमध्ये चक्रवर्ती महादेवको मन्दिरको यसअघि नै रु ८० लाखको लागतमा पुनःनिर्माण सम्पन्न गरिएको थियो । बाँकी चार मन्दिरको उत्खनन गरी हालै पुनःनिर्माण सम्पन्न भइसकेको छ । उत्खननका क्रममा शताब्दिऔँ अघिको शिलालेख र करुवामा पैसाको सिक्का भेटिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ।