काठमाडौं। निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले आगामी मंसिर २२ गते रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। महासंघले १४ औँ 'राष्ट्रिय निर्माण दिवस'को अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको हो।
संघले बुधबार बिहान ८ बजे त्रिपुरेश्वरमा प्रभातफेरि कार्यक्रम गर्ने र ९ बजेदेखि दिउँसो १ बजेसम्म आफ्नै सचिवालय अनामनगरमा रक्तदान कार्यक्रम गर्ने जनाएको छ।

संघका महासचिव रोसन दाहालद्वारा जारी सूचनामा प्रदेश निर्माण व्यवसायी महासंघ, जिल्ला निर्माण व्यवसायी महासंघ, वस्तुगत संघहरु तथा एसोसिएट सदस्यहरुलगायत सम्पूर्ण निर्माण व्यवसायी सदस्यलाई कार्यक्रममा सहभागीताका लागि अनुरोध गरिएको छ।
महासंघले प्रत्येक वर्ष आफ्नो स्थापना भएको दिनलाई 'राष्ट्रिय निर्माण दिवस'को रुपमा मनाउँदै आएको छ। यस अवसरमा महासंघले विभिन्न किसिमका सामाजिक काम गर्ने गरेको छ। सोही अनुसार यस वर्ष पनि आफूहरुको तर्फबाट समाजमा सानो भएपनि सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइएको छ।