काठमाडौं। नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सुरु गरेको छ। आइतबार निगमले दुबईका लागि हप्तामा दुई उडान थप गरेको छ। यसअघि हप्तामा सातवटा उडान हुँदै आएकामा अबदेखि नौवटा उडान हुने निगमले जानकारी दिएको छ।
थपिएका उडानको आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमकुमार आलेले उद्धघाटन गरेका छन्। थपिएका दुई उडान बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने र राति नै फर्किने गरी तालिका बनाइएको निगमले जनाएको छ। यो भन्दा अगाडी दुबईका उडान रातिमा मात्र हुने गथ्र्यो र अर्को दिन बिहान मात्र नेपालमा अवतरण हुने गथ्र्यो। यसैगरी काठमाडौं–दुबई रुटमा यात्रुको अत्यधिक चाप बढेको र उडान सङ्ख्या थप्नुपर्ने मागसमेत आएकाले उडान थप गरिएको जनाइएको छ।
त्यसैगरी निगमले दुबईबाहेक साउदी अरबको रियादमा पनि छिट्टै उडान सुरु गर्ने भएको छ। लामो समयको प्रक्रियापछि रियाद उडानको सम्पूर्ण तयारी सकिने चरणमा रहेको निगमले जनाएको छ। हाल यसबारेमा साउदी अरबको उड्डयन नियामक (गाका)सँग छलफल भइरहेको र छिट्टै सो क्षेत्रमा पनि उडान सुरु हुने निगमले जनाएको छ।
यसैगरी भारतका तीन गन्तव्यमा उडान गर्दै आएको निगम पछिल्लो पटक मुम्बई र बैङ्ग्लोरमा पनि उडानको अन्तिम तयारीमा थियो। तर भारतमा कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोन देखिएकाले तत्काललाई उक्त उडान स्थगित गर्ने सहमति भएको छ। त्यहाँको अवस्था सामान्य भएपछि सो क्षेत्रमा उडान सुरु गर्ने निगमको योजना रहेको छ।