भारतको निजी वायुसेवा कम्पनी जेट एयरवेजमा नयाँ स्वामित्व आएसँगै जेटले जहाज संख्या विस्तार गर्ने भएको छ।
उक्त कम्पनीले एक सय वटा न्यारोबडी जहाज विस्तारका लागि १२ अर्ब अमेरिकी डलर खर्च गर्न लागेको नयाँ संचालक मुरारी लाल जालन र कलरक क्यापिटलले जनाएको छ।
यो कम्पनीसँग हाल पाँचवटा बोइङ ७७७ र तीनवटा बोइङ ७३७ एस गरी कुल आठवटा जहाज रहेको छ। कम्पनीले आउँदो सन् २०२२को पहिलो चौमासिक बाटै सेवा पुनःसुरु गर्ने घोषणा गरिसकेको छ।
कम्पनीले सुरुमा आन्तरिक उडानलाई प्राथमिकता दिने भएको छ भने, आन्तरिक तर्फको उडान सँगै २०२२ भित्रै अन्तर्राष्ट्रिय उडान पनि पुनः सुचारु गर्ने योजना बनाएको छ।
संचालकका अनुसार उक्त कम्पनीले अबको तीन वर्षको समय अवधिमा ५० वटा भन्दा बढी जहाज संख्या विस्तार गर्ने योजना बनाएको छ। आर्थिक व्यय भार र कर्मचारी विवादका कारण बन्द रहेको सो कम्पनी अदालतको फैसलापछि गत जुन महिनामा जालनले लिएका हुन्।
स्वास्थ्य क्षेत्रमा पनि लगानी गरेका जालानका लागि उड्डयन क्षेत्र भने विशुद्ध नौलो हो। कलरक क्यापिटलले लण्डनस्थित फाइनेन्सियल एडभाइजरी र अल्टरनेटिभ एसेट म्यानेजमेन्टसँग सम्बन्धित कारोबार गर्दै आएको छ।