काठमाडौं। राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य परियोजनाको सुरुङ निर्माणको काम विगत ४८ दिनदेखि ठप्प छ। टनेल बोरिङ मेसिन (टिबिएम) बाट परियोजनाको मुख्य सुरुङ निर्माण भइरहँदा कमजोर भौगर्भिक अवस्थाले सुख्खा पहिरो खस्ने तथा पानी चुहिने समस्या देखिएपछि काम रोकिएको हो ।
लगातार सुख्खा पहिरो खस्ने काम नरोकिएपछि भौगर्भिक समस्या देखिएको स्थानमा ‘ट्रिटमेन्ट’ गर्न सुरुङ खन्ने कार्य बन्द गरिएको परियोजनाले बताएको छ। निरन्तर खसिरहने पहिरो तथा पानीबाट टिबिएममा खराबी आउन नदिनका लागि सुरुङमा काम रोकिएको हो ।
परियोजनाको कूल १३.३ किलोमिटर लामो मुख्य सुरुङमध्ये १०.७१४ किलोमिटर खन्ने कार्य पूरा भइसकेपछि भौगर्भिक समस्या देखिएको जनाएको छ। परियोजनामा अब २.७ किलोमिटर सुरुङ खन्ने कार्य बाँकी छ ।
२०७९ असोज २८ गतेबाट परियोजनाको मुख्य सुरुङ खन्न सुरु गरिएको थियो । नेपालका जलविद्युत तथा अन्य सिँचाइका परियोजनामा परम्परागत प्रविधिबाट सुरुङ निर्माण भए पनि यो परियोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर खनिएको छ । यसअघि भेरी–बबई डाइभर्सन परियोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो ।