काठमाडौं। दक्षिणी बागलुङको कुश्मिसेरा–बरेङ–शान्तिपुर सडकमा कालोपत्र भइरहेको छ । ट्र्याक खुलेको १५ वर्षपछि बल्ल यो सडकमा कालोपत्र गर्ने काम भइरहेको हो ।
२०६५ सालमा नै ट्र्याक खुलेकोमा अहिले यो सडकलाई २ खण्डमा विभाजन गरी कालोपत्र गर्ने कार्य भइरहेको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ।
पहिलो खण्डअन्तर्गत जिल्लाको कुश्मिसेरा बजारदेखि राङ्खानीसम्म र कुश्मिसेरादेखि बरेङसम्म दोस्रो खण्डमा काम भइरहेको छ । सडकको पहिलो खण्डमा पर्ने १० किलोमिटरको काम शर्मा क्याराभान जेभीले गरिरहेको छ । यो कम्पनीसँग सडक निर्माण गर्न २०७६ असोज २८ गते ठेक्का सम्झौता गरिएको थियो ।
४ वर्षअघि नै ठेक्का सम्झौता भएपनि यो कम्पनीले ३ पटक म्याद थप गरिसकेको छ । तर, काम सम्पन्न भएको छैन । ठेकेदारको कमजोर कार्यसम्पादनले पहिलो खण्डमा बल्ल ६२ प्रतिशत काम भएको छ ।
दुई वर्षअगाडि नै सक्नुपर्ने सडकको काम अझै ३८ प्रतिशत बाँकी रहेको बताइएको छ।
यो सडक खण्डको कालोपत्र गर्ने कार्य सम्पन्न गर्न २४ करोड ५८ लाख लागत अनुमान गरिएको छ ।