म्याग्दी। थासाङ गाउँपालिका–३ को लेते कालोपानी पर्यटकको गन्तब्य बनेको छ। लेतेमा अन्नपूर्ण, धवलागिरि, निलगिरि र टुकुचे हिमालको काखमा बसेको अनुभुती हुने यहाँ आउने पर्यटकको भनाइ छ।
म्याग्दीको सिमानामा रहेको घाँसा काटेपछि पुगिने लेते अधिकांश पर्यटकको रोजाइमा पर्न थालेको छ । सम्भव हुनेहरू लेतेमा एकरात बास बसेर वरपरका गन्तव्य घुम्छन् । बास बस्न सम्भव नहुनेहरूले खाना–खाजा–चिया पिउन एक–डेढ घण्टा भुलेर गन्तव्यतर्फ लाग्ने गरेका स्थानीयले बताए।
कालीगण्डकी नदीको किनारमा रहेको यो बस्ती समुद्री सतहबाट दुई हजार पाँच सय ३० मिटरको उचाइमा छ । बस्तीको वरपर सल्ला, धुपी र गुराँसको जङ्गल छ । बर्खामा हरियाली छाउने वनपाखा वसन्त ऋतुमा गुराँस फुलेर रङ्गिन्छ । पृष्ठभूमिको पहाड हिजोआज हिउँले छोपिएको छ । कालोपत्र सडकको पृष्ठभूमिमा हिमाल, जङ्गल र पहाडी भूगोलको दृश्यावलोकन, तस्बिर, भिडियो खिच्नेहरूको चहलपहल बढ्न थालेको संरक्षण क्षेत्र व्यवस्थापन समिति लेतेले जनाएको छ।