काठमाडौं। सरकारले कर घटाएसँगै विद्युतीय सवारीको आयात निकै बढेको छ। २०७८/७९ को बजेटले विद्युतीय सवारीमा अन्तशुल्क खारेज र कर घटाएपछि माग बढ्दा आयात पनि बढ्न गएको हो।
भन्सार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा २७ सय २१ वटा विद्युतीय सवारी आयात भएका छन्।आयात भएका सवारी साधनमध्येमा पनि २ हजार ८८ वटा ३ पाङग्रे (सफा टेम्पो, विद्युतीय रिक्सा) सवारी रहेका छन्।
विभागका अनुसार ६ सय ७३ वटा चार पाङग्रे विद्युतीय सवारी (कार, जिप, भ्यान) आयात भएको छ। १ सय ५० देखि २ सय किलोवाट क्षमताका ४ सय ६३ वटा सवारी नेपाल भित्रिएका छन्।
यातायात व्यवस्था विभागको तथ्याङक अनुसार ३६ हजार ६ सय ६७ वटा इ–रिक्सा मात्र दर्ता भई सञ्चालनमा आएका छन्। नेपालमा अहिलेसम्म लगभग ३९ लाख ८७ हजार बढी सवारी साधन सञ्चालनमा छन्। सरकारले पछिल्लो समय देशमै विद्युत उत्पादन बढ्दै गएकाले खपत बढाउनका लागि तथा प्रदुषण कम गर्ने उद्देश्यले विद्युतीय सवारीको प्रवर्द्धन गर्दै आएको छ।