काठमाडौं। त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवन उद्घाटन गरिएको छ । बुधवार बल्खुस्थित विभागको नवनिर्मित भवनको उद्घाटन एक कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा.डा शिवलाल भुसालले गरेका हुन् ।
लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवनको उद्घाटन भएसँगै सबै कार्यक्रमहरु नयाँ भवनबाट सुरू भएको छ ।
चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै विभागका प्रमुख प्रा.चिरञ्जीवी खनालले रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा सानो ठाँउ भएकाले विभागको पहलमा भवन निर्माण भएको बताए ।