झापा। बिजुलीको पोल गाडेर बत्ति बल्न थालेको तीन महिना नबित्दै पोल ढलेपछि मेचीनगर नगरपालिका–१५ मेचीपारिको ग्वाल बस्तीमा फेरि अँध्यारो छाएको छ। गत जेठबाट बत्ती बल्न शुरु भएको ग्वाल बस्तीमा साउनमा आएको बाढीले पोल ढालेपछि फेरि अँध्यारो छाएको हो।
२०७७ चैत ७ गते नगरपालिकाका मेयर विमल आचार्य र उपमेयर मीना पोखरेलले संयुक्त रूपमा यस ठाउँमा बिजुली बत्तिको उद्घाटन गरेका थिए।
नगरपालिकाले उनीहरूलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको थियो । जेठदेखि बत्ति बल्न पाएका स्थानीय खुसीले गदगद थिए तर साउन लाग्दै आएको मेची खोलाको बाढीले पोल ढालेपछि त्यो खुसी लामो समय टिक्नै सकेन। गाउँ फेरि अँध्यारोमै फर्किएको स्थानीयको गुनासो छ।
स्थानीय सरकार तथा विद्युत् प्राधिकरणको लापरबाही र हेलचक्राइँका कारण गाउँमा बिजुली बलेको तीन महिना नपुग्दै पोल बगाएर सेवा अवरुद्ध भएको स्थानीयको आरोप छ।
प्राधिकरणका कर्मचारीले नदीमा बिजुलीको पोल राम्ररी नगाडेका कारण बाढीले पोल बगाएर लगेको गाउँपालिका अध्यक्षले समेत आरोप लगाए।
बाढीले पोल लगेपछि २० वर्ष अघिदेखि गाउँमा बिजुली बत्ती चाहिन्छ भनेर आवाज उठाउँदै आएका स्थानीयलाई सेवा दिएर फेरि खोसिएझैँ भएको छ।