काठमाडौं। नेपाल एयरलाइन्सले फागुन ७ गते सिमकोट–सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ। एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने भएको हो।
यसका लागि सबै तयारी पूरा भएको नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले बताए।
उनले भने, ‘नेपाल एयरलाइन्सको जहाजले नेपालगञ्ज–सिमकोटमा उडान गरेपछि सोही दिन सिमकोट–सुर्खेत परीक्षण उडान हुनेछ। त्यसपछि सुर्खेत९सिमकोटका लागि यात्रुसहितको उडान भर्ने तालिकाको तयारी भइरहेको छ।’ यद्यपि अझै भाडा कति निर्धारण भने भइसकेको छैन।
सिमकोट–सुर्खेत हवाई उडान हुने भएपछि हुम्लाबासीलाई सहज हुने भएको स्थानीय गोर्ख रोकायाले बताए।
सिमकोटबाट नेपालगञ्ज जान जहाजमा ४५ मिनेट लाग्छ भने नेपालगञ्बाट सुर्खेत पुग्न चार घन्टा लाग्छ। अब सिधै प्रदेश राजधानी सुर्खेत पुग्न नियमित उडान भए ३५ मिनेट पुग्न सकिने बताइएको छ।