म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुला सडकको स्तरोन्नतिको काम सुरु भएको छ । ट्र्याक खुलेको १३ वर्षपछि बल्ल यो सडकको स्तरोन्नतिको काम सुरु भएको हो ।
यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र २ का बस्ती जोडिन्छ। २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खुलेको लामो समयपछि स्तरोन्नति हुन थालेको स्थानीयले बताए।
सडक स्तरोन्नति भएपछि यात्रा अवधि छोटिने, सुरक्षित र सहजरूपमा आवतजावत गर्न सकिनुका साथै गाडी र ढुवानी भाडा घट्ने अपेक्षा गरिएको स्थानीयको भनाइ छ।
सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्ष २०८०।०८१ मा गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ र मङ्गला गाउँपालिकाले ४० लाख रुपैयाा विनियोजन गरेका छन् । गत पुस ५ गते ७१ लाख ४० हजार पाँच सय ७६ रुपैयाँमा ठेक्का सम्झौता गरेको जयदुप्चे निर्माण सेवाले सडक निर्माणलाई तीव्रता दिएको मङ्गला गाउँपालिकाकाले जनाएको छ।
आगामी असार १० गतेसम्मको ठेक्का अवधि भए पनि लक्ष्यभन्दा ३ महिना अगाडि नै फागुन महिनाभित्र सम्पन्न गर्ने तयारीसहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको दुप्चेश्वर निर्माण सेवाले बताएको छ।