चितवन। भरतपुर विमानस्थल विस्तारको प्रकृया अघि बढ्ने भएको छ । विमानस्थल नजिकैको नेपाली सेनाको घोडा प्रजजन केन्द्र शक्तिखोरमा स्थानान्तरण गरी धावनमार्ग विस्तार गर्न सोमबारबाट अध्ययन सुरु गर्न लागिएको हो ।
विमानस्थलको धावनमार्ग विस्तारका लागि सर्वेक्षण अध्ययन गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्वे) गरिने भरतपुर विमानस्थलले जनाएको छ। शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बैठक बसेर सोमबारबाट काम सुरु गर्ने सहमति भए अनुरुप काम सुरु हुन लागेको हो ।
यस्तै, समग्र विमानस्थल विस्तार सहजीकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति भएको छ । गत माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो । संरचना सार्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले बेहार्ने छ ।