काठमाडौं। नेपाल वायुसेवा निगमको जहाजले खतराजन्य पदार्थ ओसारपसार गर्ने अनुमति पाएको छ । सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देक राजकुमार क्षेत्रीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अनुमति प्रदान गरेका हुन् ।
६ दशकदेखि कार्गो मात्र ओसारपसारमा सिमित रहेको निगमले अब भने खतराजन्य पदार्थ पनि ओसार्ने भएको हो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एनेक्स–१८ तथा डक ९२८४ मा उल्लेख भएका खतराजन्य पदार्थसम्बन्धी प्रावधानहरू पूरा गरेपश्चात निगमका ए–३२० र ए–३३० जहाजले सामान ओसारपसार गर्ने अनुमति प्राप्त गरेको निगमले जनाएको छ ।
कार्गो भित्र्याउँदा विदेशी मुद्रा भित्र्याउने विश्वास लिएको निगमले जनाएको छ ।राष्ट्रिय ध्वजावाहक वायुसेवामार्फत यस किसिमका सामान ढुवानी गर्दा व्यवसायीलाई सहज हुनुका साथै सरकारलाई बुझाउने राजस्व पनि तीन गुणाले वृद्धि हुने अनुमान रहेको पर्यटन मन्त्री प्रेम बहादुर आलेले बताए।