काठमाडौं। टोखास्थित विष्णुमति नदी आसपासका अवैध संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले मंगलबार बिहान डोजर लगाएर अवैध संरचना हटाउन सुरु गरेको हो।
नगरपालिकाले सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाइएको जानकारी दिए । टोखाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नं ४ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रुपमा निर्माण गरिएका संरचना हटाएको हो ।
उक्त समितिले मंगलबार टोखा नगरपालिका–८ स्थित फ्लोरोसेन्ट स्कुल अगाडि निर्माण गरिएका संरचना हटाएको छ।
नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमति करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाउने बताएको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखावासीलाई विष्णुमति करिडोरबाट आवतजावत लागि सहज होस् भन्ने उद्देश्यले डोजर लगाइएको बताए। टोखाभित्र एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै यसलाई संरक्षण गर्ने योजना नगरपालिका लागेको उनले बताए ।