दमौली। गण्डकी प्रदेशको गौरव आयोजना सडकको कालोपत्र सुरु भएको छ । तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र गर्न सुरु गरिएको हो ।
मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
अस्फाल्ट प्रविधिबाट तनहुँ खण्डमा कालोपत्र सुरु गरेको कार्यालयले जनाएको छ। सडक स्तरोन्नतिका लागि सोमबारदेखि फागुन २२ गतेसम्म उक्त सडक बन्द गरिएको छ ।
२०५१ मा ट्र्याक खुलेको उक्त मार्गमा कालोपत्र हुने भएपछि स्थानीयवासी खुसी भएका छन् । उक्त खण्ड स्तरोन्नतिका लागि २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो।
भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् २२ करोड ८५ लाख ४१ हजार ७ सय ९३ रुपैयाँ लागतमा कालोपत्र सुरु गरिएको आचार्यले बताए । ३५ करोड १४ लाख ७४ हजार १ सय ९ रुपैयाँ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार ३ सय १६ रुपैयाँमा कालोपत्र गर्न ठेक्का पाएको थियो ।