काठमाडौं। विभिन्न जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ। एक महिनाभित्र ४०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने नेपाल विद्युत् प्राधिकणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका हुन् ।
१११ मेगावाटको रसुवागढी, ४२.४ मेगावाटको सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसी, तमोरबाट ७२ मेगावाट, म्याग्दी र लिखुबाट ७२ मेगावाट विद्युत् प्रणालीमा थपिने भएको हो।
यी आयोजनाहरूबाट उत्पादित बिजुली जोडिने प्रसारण लाइनको अन्तिम चरणको काम भइरहेको छ। जलविद्युत् आयोजनामध्ये केही परीक्षणका चरणमा छन् भने केहीको अन्तिम चरणको काम भइरहेको छ । प्रसारण लाइन निर्धारित समयमा पूरा भए उत्पादित विद्युत् प्रणालीमा थप भई जडित क्षमता करिब ३४ सय मेगावाट पुग्ने प्राधिकरणले जनाएको छ।
अहिले प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण भइरहेका रसुवागढी, सान्जेन, मध्यभोटेकोसी परीक्षणको चरणमा छन् ।
घिसिङका अनुसार अहिले ३५ सय मेगावाटका जलविद्युत् आयोजना निर्माणाधीन छन् ।