चितवन। दैनिक ४ घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार (फागुन १३ गते) देखि नियमितरूपमा सञ्चालनमा आउने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ गते शनिबार सकिन लागेको र पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले १३ गतेदेखि सवारी रोक्नु नपर्ने हुँदा नियमितरुपमा सञ्चालन हुने भएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका अनुसार पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक बन्द गरेर काम गरिएको हो । कूल ६३ दिनमा माघेसङ्क्रान्तिमा दुई दिनमा अर्को एक दिन गरी ३ दिनबाहेक ६० दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएको हो । त्यहाँको ढिस्को भत्काउने काम अब तीन मिटर मात्रै बाँकी छ ।
फागुन १२ गतेसम्म थप एक मिटर भत्काउन सकिने अनुमान छ । अबको काम निकै कडा भएकाले समय लाग्ने देखिएको छ । बाँकी दुई मिटर सडक नरोकेरै भत्काउन मिल्ने आयोजनाले बताएको छ।