फाइल तस्बिर
पर्वत। कास्कीको बीरेठाँटीदेखि मुस्ताङको रानीपौवासम्मको केबलकार निर्माणका लागि करिब ५५ अर्बको लागत लाग्ने भएको छ। मुक्तिनाथ केबलकार प्रालिले निर्माण गर्न लागेको केबलकारको अनुमानित लागत ५५ अर्ब रुपैयाँ रहेको हो।
केबलकार निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र डिपिआर तयार पारेर सरकारलाई बुझाइसकिएको छ। अहिले केबलकार निर्माण गर्दा प्रयोग गर्नुपर्ने जग्गाको नापजाँच र खरिदको काम भइरहेको छ।
कास्की, पर्वत, बागलुङ र म्याग्दी गरेर चार जिल्लामा बन्ने यो केबलकारमा ८० किलोमिटरको दूरीमा विभिन्न ठाउँमा चढ्ने र ओर्लन मिल्ने स्टेशन सहित निर्माण हुनेछ। यो केबलकारमा बीरेठाँटीबाट चढेर मुस्ताङको रानीपौवा पुग्न ३ घण्टा ३६ मिनेट समय लाग्ने बताइएको छ।
८० किलोमिटर दूरीका लागि ४२० वटा ‘टावर’ र करिब ७६५ वटा डिब्बा रहने छ। एउटा डिब्बामा १० जना मानिस बस्न सक्ने छन्।