काठमाडौं। नेपाल टेलिकमले नेपाल भित्र सञ्चालित ३४ विमानस्थलमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धमा नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच शुक्रबार सहमति भएको हो।
सहमति पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनीता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन्। सहमति पत्र अनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्रि वाइफाई नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरूमा समेत चरणबद्ध रूपमा फ्रि वाइफाई इन्टरनेट सेवा सञ्चालन गर्नेछ ।
त्यसैगरी विमानस्थलभित्र यात्रुहरूलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने छ ।
फ्रि वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरू जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गर्नेछ।